१६ असोज, झापा । झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बिर्तामोड र दमकमा करेन्ट लागेर एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका– १ स्थित स्टिल उद्योगमा कार्यरत भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलिगुडी बस्ने ३२ वर्षीय काजी दासको करेन्ट लागेर मृत्यु भएको छ । उद्योगमै काम गर्ने क्रममा उनलाई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा दमक नगरपालिका –५ बस्ने ४० वर्षीय चिन्टु माझीको मृत्यु भएको हो । घर नजिकै खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लड्दा करेन्ट लागेको थियो ।