१४ कात्तिक, काठमाडौं । करौडौको जुवा खालबाट समातिएका २५ जुवाडेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

तिहार विदापछि कार्यालय खुलेकाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आज उनीहरुलाई सिडियो कार्यालयमा उपस्थित गराइएको हो । वृत्तका डिएसपी उमेश लम्सालले उनीहरुलाई सबैलाई अनुसन्धान गर्न ७ दिनको म्याद पाएको बताए । उनीहरुलाई बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका ‘जुवाडेलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।

हिजो बुधबार सर्वोच्चले ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भन्ने आदेश दिएको थियो।आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई म्याद तामेल गरी हाजिर गराउन आदेश दिएको हो।

शनिबार राति महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले करोडौको जुवा खालबाट २ करोड ६७ लाख रुपैयाँ र ३ लाखको चेकसहित २५ जनालाई पक्राउ गरेको थियो ।