२२ भदौ मान्म । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन ।

सो राजमार्ग अन्तर्गत तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको सडक आजसम्म खुल्न सकेको छैन । शुक्रबार रातिको अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

फाइल फाेटाे

अवरुद्ध राजमार्ग खुलाउन दुई वटा डोजरले काम गरिरहेकाले आज रातिसम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताउनुभयो । राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जका लागि हिँडेका यात्रुु बाटोमा नै अलपत्र परेका छन् । रासस