१६ फागुन, एजेन्सी । एउटा कार्ड पेमेन्ट कम्पनीको मालिकको वार्षिक तलब करोडौँ रुपैयाँ थियो ।

तर एकदिन उनले आफ्नै तलब घटाउने निर्णय गरे । उनले आफ्ना कर्मचारीलाई वार्षिक ५० लाख रुपैयाँ तलब दिनको लागि यस्तो गरेका हुन् । आउनुहोस् हामी पनि जानौँ यी गज्जबका मालिकका बारेमा ।

ड्यान प्रिस अमेरिकाको सिएटलमा एक पेमेन्ट कम्पनी चलाउँछन् । उनले आफ्नो किशोरावस्थामै कम्पनी शुरुवात गरेका थिए । उनको कम्पनीले एकदमै राम्रो कारोबार गरिरहेको थियो । एकदिन उनले आफ्ना एकदमै नजिकका साथीले दुई स्थानमा जागिर खाँदा पनि घरखर्च चलाउन समस्या भइरहेको पाए ।

त्यसपछि उनले आफ्ना कम्पनीको बारेमा पनि सोचे । उनको कम्पनीमा पनि असमान तलबसुविधाहरु तोकिएको थियो । यो घटना देखिसकेपछि उनले आफ्नो तलब घटाएर सबै कर्मचारीको तलब बढाउने निर्णय गरे ।

बीबीसीका अनुसार ग्र्याविटिट पेमेन्ट्स चलाउने ड्यानले पहिलोपटक २०१५ मा सबै १ सय २० जना कर्मचारीको तलब वार्षिक ५० लाख रुपैयाँ पुर्याउने निर्णय गरे । उनले आफ्नो ८ करोड रुपैयाँ प्रतिवर्षको तलबबाट ७ करोड रुपैयाँ कटौती गरे ।