काठमाडौं, २० जेठ । दुर्घटना बढेपछि चक्रपथ अन्तर्गत नयाँ बनेको कलंकी-कोटेश्वर सडकमा सवारी चलाउने गतिकाे सिमा तोकिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि नै सवारीको गति नियन्त्रण गर्न थालेको हो ।

तिब्र गतिका कारण भयानक दुर्घटनाहरु हुन थालेपछि ट्राफिक प्रहरीले तोकिएभन्दा बढी गतिमा गाडी चलाउनेलाई कारवाही गर्ने तयारी थालेको हो । ट्राफिक प्रहरीले तोके अनुसार मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २० किलो मिटर प्रतिघण्टाको दरमा मात्रै सवारी चलाउन पाइनेछ ।

सवारी साधनको गति मापन सुरु गरिएको भन्दै ट्राफिक प्रहरी महाशाखाले तोकिएभन्दा बढी गतिमा सवारी साधान चलाइएको पाइए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक कारवाही गरिने जनाएको छ ।