२७ कात्तिक, काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले सरकारको कान खुलेको झैँ लागेको बताएका छन् । कलाकारहरुको दबावपछि सरकारले क्लिन फिडसम्बन्धी विधेयक संसद्बाट पारित गरेको सरकारको कदको स्वागत गरे ।

आफ्नो जन्मदिनको अवसरमा रेडियो अडियोले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले क्लिन फिड लागू भएसँगै देशका प्राविधिक, कलाकारहरुको सूनौलो युगको शुरुवात हुने बताए । क्लिन फिड लागूभएसँगै नेपालमा विज्ञापनको बजार धेरै विस्तारित हुने उनको भनाइ छ ।

सरकारले विज्ञापन नियमन गर्न बनेको विधयक संसद्बाट पारित गरी कात्तिक ८ गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ । नियममा नेपालमा हेरिने विज्ञापनरहित विदेशी च्यानलहरु देखाउने लगायत नेपालमा बज्ने विदेशी उत्पादनको विज्ञापनहरु डविङ गरेर बनाउन नपाइने उल्लेख गरिएको छ ।

हास्यकलाकार आचार्यले सञ्चारमन्त्रीले केहीदिन अघि एक कार्यक्रममा विदेशी चलचित्रलाई कोटा सिस्टम लागू गर्न लागेको कदमको पनि प्रशंसा गरेका छन् । ‘यदि त्यसो भएमा नेपाली चलचित्रको लागि सुखद शुरुवात हुन्छ,’ उनले भने,’ उनले भने, ‘अब नेपालमा एकछत्र नेपाली चलचित्रको राज हुनुपर्छ ।’ नेपाली चलचित्र र नेपाली रंगमञ्चमा लागेको सबैलाई एकै परिवार सम्झेर अघि बढ्न सके नेपाली चलचित्रको स्तर माथि उठ्नेमा दुईमत नभएको हास्यकलाकार आचार्यको भनाइ छ ।

जन्मदिनमा उनले मदनकृष्ण श्रेष्ठसँगको ४० वर्ष लामो सहकार्य सम्झँदै भावुक बनेका थिए । आफूहरुको सहकार्यको विषयमा कसैले लेख्नैपर्ने उल्लेख गर्दै उनले मह सञ्चार नेपालको हास्यव्यङ्ग्यको इतिहास भइसकेको सम्झिए ।