४ मंसिर, काठमाडौं ।  बानेश्वरका एक वृद्ध मंगलबार किशोरी छोरी हराएको उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगे। प्रहरीले छोरीको मोबाइल नम्बर माग्यो। ‘कल लोकेसन’ हेर्दा सोमबार ललितपुरको च्यासल क्षेत्रमा मोबाइल ‘स्विच अफ’ भएको देखियो। प्रहरीले ती वृद्धलाई प्रश्न गर्‍यो– ‘च्यासलमा तपाईंको कोही आफन्त छ ? ’

किशोरीसँगै पढ्ने साथी त्यहाँ बस्ने गरेको पत्ता लाग्यो। उनले अर्को नम्बरबाट घरमा म्यासेज पठाएकी रहेछन्। ‘मलाई मन पर्ने साथीसँग विवाह गर्दै छु। मेरो चिन्ता नगरिस्यो’, म्यासेजमा थियो। त्यो नम्बर पत्ता लगाउँदा सर्लाही घर भएका एक किशोरको हुलिया खुल्यो। उनी शान्तिनगरमा मेडिकल पसल चलाउँछन्। सिमकार्ड लिँदा उनले बुवाको नम्बर दिएका रहेछन्। प्रहरीले ती किशोरका बुवालाई फोन गर्‍यो। उनकै छोरासँग किशोरी सर्लाही पुगेको जानकारी प्रहरीले पायो।

फेसबुक हेर्दा ती किशोरी र किशोर नजिकिएका देखिए। प्रहरीसँग कुरा गरिरहेकै बेला किशोरीका बुवाको मोबाइलमा म्यासेज आयो। किशोरीले कुनै बैंकबाट ४० हजार रुपैयाँ झिकेकी रहेछन्। दुवै परिवार मिलेर समस्या हल गर्ने भन्दै किशोरीका आफन्त प्रहरी कार्यालयबाट बाहिरिए।

घटना २

राजधानीको नाम चलेकै स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी किशोरी एक सातादेखि सम्पर्कविहीन थिइन्। परिवारका सदस्य उनको खोजीका लागि प्रहरीमा पुगे। ती किशोरी आफूभन्दा एक ब्याच सिनियर केटासँग विवाह गर्न गोरखा पुगेको कुरा प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो। उनलाई फर्काउन गोरखाकै एक वडाअध्यक्ष लागिपरे। उद्धार गरी काठमाडौं ल्याउनेबित्तिकै किशोरीले बाबुआमासँग दुखेसो पोखिन्।

‘तपाईं मलाई मोबाइल नकिनिदिने। भनेको कुरा खान नदिने। घुम्न जान नदिने। मलाई स्वतन्त्रता चाहिँदैन ?’, किशोरीको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने। किशोरीले अभिभावकलाई हकारेपछि प्रहरी चकित पर्‍यो। प्रहरीले किशोरीलाई अभिभावकको जिम्मा लगायो। किशोरी ९ कक्षामा राम्ररी पढिरहेको डीएसपी बोगटीले बताए।

यस्ता घटनासम्बन्धी दैनिक पाँचवटासम्म उजुरी काठमाडौं प्रहरीमा पर्छन्। छोरी कोसँग भागिन् भनेर अधिकांश अभिभावक जानकार हुन्छन्। तर, कलिलै उमेरमा छोरीले रोजेको बाटोले परिवार विक्षिप्त भई प्रहरीमा आउने गरेको डीएसपी बोगटीको भनाइ छ। टेकु प्रहरीका अनुसार यो आर्थिक वर्षको कात्तिकसम्म खोजतलासका लागि भन्दै प्रहरीमा ५ सय ८ उजुरी परेका छन्। तीमध्ये ३ सय ३० जना भेटिएका छन्।

‘राजधानीमा यो समस्या धेरै देखियो। राम्रा घरानाका छोरीहरू पनि कलिलै उमेरमा जीवनसाथी खोज्न थाले’, उनले भने, ‘खासमा यो समस्या परिवारले छोराछोरीको लालनपालनमा ध्यान नदिएकाले बढेको हो।’ अभिभावकले छोराछोरीलाई गर्ने व्यवहारमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।

भेटिँदा अर्कैसँग घरजम

वैदेशिक रोजगारीमा जाने युवकको पीडा कम दर्दनाक छैन। नेपाल फर्किंद श्रीमती नभेटेपछि उनीहरूले प्रहरीमा उजुरी दिन्छन्। भेटिँदा अर्कैसँग घरजम गरेको पाइन्छ।

चितवन घर भई कालिमाटी बस्दै आएका एक व्यक्ति कतार पुग्छन्। उनले त्यहाँ कमाएको पैसा महिनापिच्छे श्रीमतीलाई पठाउँछन्। एक वर्षपछि उनी गत बुधबार मात्रै नेपाल फर्किए तर श्रीमती डेरामा थिइनन्। उनले खोजतलासका लागि काठमाडौं प्रहरीमा उजुरी दिए। प्रहरीले खोजतलास गर्दा ती महिला अर्कै युवकसँग घरजम गरेको भेटियो। श्रीमान्ले उनलाई छाडे पनि विदेशबाट पठाएको पैसा दाबी गरे। तर, ती महिला पूर्व श्रीमान्सँग जान राजी भइनन्। बरु केही रकम पूर्वपतिलाई जिम्मा लगाएर हिँडिन्।

थानकोट बस्दै आएका अर्का एक युवकको पीडा मंगलबार मात्रै प्रहरीले सुन्यो। उनले कतारमा कमाएको पैसा चार वर्षसम्म श्रीमतीलाई पठाए। फर्किएर आउँदा उनले श्रीमतीलाई अर्कै पुरुषसँग भेटे। त्यो सहन नसकी उनले अर्कै युवतीसँग घरजम गरे। पहिलेकी श्रीमतीबाट दुई बच्चा थिए। पछिल्ली श्रीमतीतर्फ एक जना बच्चा छ। पहिलेकी श्रीमतीले उनीविरुद्ध बहुविवाहको उजुरी हालेकी छन्।

प्रहरीले मंगलबार छलफलमा बोलाएको थियो। टेकु प्रहरीमा कान्छी श्रीमती उपस्थित भइनन्। जेठीले अंशबण्डासहित बहुविवाहको मुद्दाबाट आफू पछि नहट्ने ढिपी कसिन्। यो घटना अदालतसम्म पुग्ने देखिन्छ।

टेकु प्रहरीमा यस्ता घटनाको उजुरीमा दैनिक छलफल हुन्छ। यो आर्थिक वर्षमा मात्रै महिला हराएको २ सय ४२ वटा उजुरी परेको देखिन्छ। तीमध्ये १ सय ६४ जनालाई प्रहरीले खोजतलास गर्‍यो। अधिकांश घटनाको अनुसन्धान गर्दा श्रीमान्ले खानलाउन नदिएपछि अर्कैसँग हिँड्नुपरेको गुनासो श्रीमतीको हुन्छ। श्रीमान्ले भने विदेशबाट पठाएको पैसामा मस्ती गरेर अर्कै पुरुषसँग भागेको व्यहोरा प्रहरीमा सुनाउँछन्। अन्नपूर्णपोष्टबाट