७ चैत, काठमाडौं । काठमाडौंँ महानगपालिकाले आफ्ना क्षेत्रबाट उत्पादन तथा पुनःप्रयोग हुने कवाडी सामान खरीद गर्न खाली सिसी व्यवस्थापन प्रालिसँग सम्झौता गरेको छ । महानगर, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ र प्रालिका अध्यक्ष आयुषी केसीबीच सम्झौता भएको हो । सम्झौताबमोजिम महानगरवासीले बोलाएका ठाउँमा गएर प्रालिले सामान खरीद गर्नुपर्नेछ ।

नगरवासीले बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि प्रालिले पहिचान झल्कने पोशाक लगाएका व्यक्ति सामान खरीद गर्न पोको पार्ने र ढुवानी गर्ने जिम्मेवारी प्रालिको नै हुनेछ । यसरी खरीद गरिने सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ । सम्झौताको अनुसूचीमा कागज, सिसा, प्लाष्टिक, धातु र स्टिल तथा विद्युतीय गरी पाँच प्रकृतिका पुनःप्रयोग फोहर खरीद गरिने वस्तु उल्लेख छ ।

प्रतिकिलो खबर कागज रु १०, कापी रु १२, किताब, ए ४ साइज कागज र म्यागाजिनको रु सात–सात, परीक्षा कागजको रु १० तथा कार्डबोर्ड र अण्डाको क्रेट रु तीन–तीन राखिएको छ । सो मूल्य सामान खरीद गरिने स्थानका आधारमा पनि तय हुनेछ । प्रालिका अध्यक्ष केसीले लामो दूरीबाट ढुवानी गर्नुप¥यो भने मूल्य कम हुन सक्ने बताए ।

अनुसूचीमा राखिएको दोस्रो प्रकृतिको पुनःप्रयोगीय फोहरअन्तर्गत बियरको बोतलको प्रतिगोटा रु एक र वाइनको बोतलको प्रतिगोटा ५० पैसा राखिएको छ । त्यस्तै तेस्रो प्रकृतिको पुनःप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य वस्तु राखिएको छ । स्याम्पुको खोल र पानीलगायत प्लाष्टिकका बोतलमा राखिएका पेय वस्तुका खोलको मूल्य प्रतिकिलो रु पाँच राखिएको छ ।

धातुजन्य फोहोरअन्तर्गत अल्मुनियमका सामानको प्रतिकिलो रु ९० र सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्थानुसार मूल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै पित्तल, तामा, स्टिल र टिनको मूल्य प्रतिकिलो क्रमशः रु २०, ३८०, ४५०, २० र ४ निर्धारण गरिएको छ ।

‘ती सामानको मूल्य हामी वडा कार्यालयमार्फत स्थानीयवासीको सूचनामा पु¥याउँछौंँ’, महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले भने । यसरी भएको सहमतिले कामपालाई फोहर व्यवस्थापन गर्न थप सहयोग पुग्ने बताउँदै श्रेष्ठले यसले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने नगरवासीको विकाससमेत हुने विश्वास व्यक्त गरे । रासस