१८ मंसिर, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ ।

यही मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन भएको थियो । काँग्रेसले उपनिर्वाचनले पार्टीको साङ्गठनिक आत्मबलमा अभिवृद्धि गराएको र आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्ने सन्देश प्राप्त भएको जनाएको छ । रासस