८ वैशाख,  बैतडी ।

बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ ।

गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए।

कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पाङ्ग्रा फुटेर टुक्राटुक्रा हुनुका साथै, छाती र आँखामा चोट रहेको जिल्ला अस्पातल बैतडीले जनाएको छ । भट्टलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल बैतडीका डा प्रनाम जैरुले जानकारी दिए ।

भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका दुबैजनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

यसैबीच आफ्ना नेता ईश्वरदत्त भट्टमाथि आक्रमण भएपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका आकस्मिक बैठक बसिरहेको छ । बैठकले छानबीन टोली गठन गर्ने कोषाध्यक्ष पाण्डेयले जानकारी दिए । कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली काँंग्रेससँग आवद्ध रहेका भनिएको भए पनि आफ्नो पार्टी र कुनै भातृसङ्गठनसँग ती व्यक्ति आवद्ध नरहेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए । रासस