१९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सांसदहरु पछि हटेपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ ।

समितिको आज बिहान बसेको बैठकले विधेयक पारित गरेको हो । अब यो विधेयक संसदको आजकै बैठकमा पेस गर्ने तयारी छ । विधेयकमा कांग्रेसका १९ सांसदले भ्रष्टाचार तथा फौजदारी अभियोग लागेका व्यक्तिले पनि ३ वर्षपछि चुनाव लड्न पाउनुपर्ने भन्दै संशोधन हालेका थिए ।

पार्टी भित्रै पनि संसोधनको विरोध भएपछि उनीहरुले संसोधन फिर्ता लिएका हुन् । यस्तै नो भोटको व्यवस्थासम्बन्धी बुँदामा भने संशोधन गरिएको छ । आगामी निर्वाचनमा मतदाताले कुनै पनि उम्मेदवारलाई भोट हाल्दिन भन्ने अधिकार ‘राइट टू रिजेक्ट’ पाउने छैनन् ।
थ्रेसहोल्डसम्बन्धी व्यवस्था पुर्वनिर्धारित नै रहने छ ।

अब राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नु अनिवार्य हुनेछ । संसद बैठक १ बजेका लागि बोलाइएपनि साढे १ सम्म सुरु हुन सकेको छैन । संसद बैठकमा आज निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए ।