२७ फागुन, एजेन्सी । मध्यप्रदेशमा भारतीय कांग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाले मङ्गलबार राजीनामा दिएका छन् । सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् ।

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका हुन् । निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो । ‘सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा कांग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,’ उनले राजीनामामा भनेका छन् ।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका कांग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंगसहितका कांग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । मध्य प्रदेशमा काग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।

कांग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए । उनीहरुबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कांग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ ।