१३ चैत, काठमाडौं । नेपाल सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने २ सय ३५ ओटा सवारी साधनलाई बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान देखी १२ बजे ३ सम्म २ सय १२ ओटा दुई पाङ्ग्रे र २३ ओटा ४ पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को रोकथामको लागी नेपाल सरकारले देशैभरी गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

देशभर आज पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलिरहेका छन् । अन्य सवारी साधन चलाउन भने निषेध गरिएको छ । नेपाल सरकारले एक साताका लागि देशभर लकडाउन गरेसँगै १८ गते बिहान ६ बजेसम्म अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत प्रतिबन्ध लगाइएको छ ।

उच्च स्तरीय समन्वय समितीले, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमण, रोकथाम र नियन्त्रणमा लागि, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी साताव्यापी लकडाउन गरेको हो । विश्व स्वास्थ्य संगठनको भनाई, छिमेकी मुलकहरुमा देखिएको संक्रमण र खुल्ला सिमानाका कारण नेपाल पनि जोखिममा रहेकाले उच्च सतर्कता अपनाइएको हो ।