५ फागुन, काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको हो । मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना नभएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ रहेको छ । मौसमविद् कँडेलका अनुसार बुधबारबाट नयाँ मौसमी प्रणाली विकास भई आकाश खुल्ला हुने सम्भावना रहेको छ ।

फाइल तस्बिर

वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको जनाइएको छ । मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता तीन हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन ।

अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता तीन हजार मिटरसम्म हुनुपर्छ । सो भन्दा कम भएमा उडान प्रभावित हुन सक्छ । नेपालको वायुमण्डलको पारदर्शिता तीन हजार मिटरबाट तल नझरेकाले तत्काल उडान प्रभावित हुने अवस्था नरहेको बताइएको छ ।