१५ असोज, काठमाडौं । राजधानीका विभिन्न स्थानमा मंगलबार तीनवटा चोरीका घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मंगलबार राजधानीको कागेश्वरी मनहरा, टोखा र सुनाकोठीमा चोरी भएक हुन् ।

कागेश्वरी मनहरा नगरपालिका–३२ शिवनगर डेरा गरी बस्ने सप्तरी कन्चनरूप नगरपालिका–११ घर भएकी ५५ वर्षीया पुष्पा चौधरीको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब १ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी टोखा नगरपालिका–३ साईबाबा चोक बस्ने झापा घर भएका २४ वर्षीय रुपक लिम्बुको न्यू ज्वाईन्ट ईलेक्ट्रोनिक पसलबाट विभिन्न कम्पनीको टिभि ४ थान, ल्यापटप १ थान र मोबाइल १० थान समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुरको सुनाकोठी बस्ने बिमल तिमिल्सिनाको घरबाट सुनका विभिन्न गरगहना र ल्यापटप १ थान समेत गरी करिब ५ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।