२० कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटिएको विरोधमा सत्तारुढ दलका युवा विद्यार्थी नै सडकमा उत्रिएका छन् ।

सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियुले रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु गरेको विरोध र्याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसामा परिणत भएको थियो । र्यालीमा सहभागी विद्यार्थीहरुले गो ब्याक इण्डियाको नारा घन्काए । यसअघि भारतले नाकाबन्दी गरेका बेला ‘गो ब्याक इण्डिया’को नारा लागेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय नक्साबाट हटाउन माग गरे । दुई देशबीच यसअघि भएका असमान सन्धी सम्झौता खारेज हुनुपर्ने उनीहरुको माग छ ।

भारतले नक्सा नसच्याएसम्म नेपाली भूमी फिर्ता गर्नका लागि आन्दोलनका कार्यक्रम निरन्तर अघि बढाउने अनेरास्ववियुको तयारी छ । यस्तै प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पनि काठमाडौंमा विरोध जुलुस निकालेको छ ।