२ मंसिर, काठमाडौं । दैनिक र नियमित रूपमा कान समातेर उठबस गर्दा शरीरको अनावश्यक तौललाई घटाएर शरीरलाई समेत स्वस्थ बनाउन मद्दत गर्छ ।

कान समातेर उठबस गर्नु, वा सजिलै उठबस गर्न नसके ढोकाको सहायता लिएर उठबस गर्नु वास्तवमै एक प्रकारको ब्यायाम वा योगासन हो । यसरी कान समातेर उठबस गर्नुलाई योगको भाषामा ‘सुपरब्रेन योगा’ भनिन्छ ।

कान समातेर उठबस गर्दा केही दिनसम्म खुट्टा तथा जिउ असाध्यै दुख्ने गर्छ तर, समयसँगै बिस्तारै शरीरको दुखाई कम भएर शान्त महसुस हुन्छ । यो योगा गर्नाले शरीरको पेट, तीघ्रा तथा अन्य ठाउँमा जम्मा भएका बोसोलाई पगाल्ने क्षमता राख्ने अनुसन्धान समेतले साबित गरिसकेको छ ।

नियमित रूपमा कान समातेर उठबस गर्नाले पसिना बगेर क्यलारी बर्न हुन्छ र छिट्टै शरीरको तौल घट्नुका साथै, हड्डी पनि मजबूत हुने गर्छ । उठबसले मोटोपनको समस्यालाई निवारण गरी उच्च रक्तचाप, कोलेस्टेरोल तथा मुटुसम्बन्धी रोगहरू लग्न दिँदैन ।

दैनिक ३० मिनेट उठबस गर्दा क्वाड्रसिप्स, पिँडुला, ग्लुट्स, हिप्स र हेमस्ट्रिङमा हुने गतिबिधिले गर्दा हाम्रो खुट्टाको हड्डी र मांसपेशीहरु मजबुत हुने गर्छ । यस्तो गतिविधिले मांसपेशीमा फाइबर र अक्सिजनको मात्रालाई सन्तुलन गरेर शरीरलाई ऊर्जा प्रदान गर्छ । यसरि नियमित उठबस गर्ने बानीले स्नायु प्रणाली र मष्तिष्कमा अक्सिजन प्रवाह गर्न मद्दत गरेर एन्जाइटी, डिप्रेसन, डिमेन्सियाका बिरामीको अवस्थामा पनि सुधार हुन्छ ।