७ कात्तिक, बैतडी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न गर्न पहल शुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कार्यालय प्रमुखको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखले बिदा बस्न नपाउने निर्णय गरेको छ ।

निर्वाचनसँग सम्बन्धित विवरण र स्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

यस्तै सरकारी कार्यालयमा रहेका सवारी साधन दुरुस्त राख्नुपर्ने, जिल्लामा रहेका एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरेमा र जिल्ला बाहिर सरकारी सवारी साधन लग्नुपर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने निर्णयसमेत भएको छ ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारउपर सोमबार दाबी विरोध उजुरी दिने कार्यतालिका रहे पनि बैतडीमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेपछि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

प्रतिनिधि सभाका लागि नेपाली काँग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन भने बाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेदवारी दर्ता गरेका छन ।

यसैगरी प्रतिनिधि सभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी प्रदेश सभाका लागि बैतडी क्षेत्र नं १मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हरिमोहन भण्डारी, बाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका तर्फबाट गणेश चन्द, बाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का लीलाधर भट्टले उम्मेदवारी दर्ता गरेका छन । रासस