१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानीमा तैनाथ सेना फिर्ता गर्न आग्रह गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले एक इन्च नेपाली भूमि कसैलाई पनि मिच्न नदिने बताए । यो सरकार एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न दिँदैन र अरुको भूमि पनि मिच्दैन, उनले भने ।

भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेपछि नेपालमा त्यसको तिब्र विरोध भइरहेको छ । गएको हप्ता ओलीको आव्हानमा बसकेो सर्वपक्षीय बैठकले कुटनीतिक माध्यामबाट भारतसँग छलफल गरी विवाद टुंग्याउन सुझाव दिएको थियो । अहिलेको सरकार नेपाली जनताले चुनेको देशभक्त सरकार रहेको भन्दै ओलीले आफ्नो जमिन मिचिँदा चुप लागेर बस्न नसक्ने बताए । ‘सरकारले संवादको माध्यामबाट यो सीमा सम्बन्धि समस्या समाधान गर्छ, उनले भने, हाम्रो भूमिबाट विदेशी फौज फिर्ता गराउँछ, हाम्रो भूमिको रक्षा गर्छ ।’

प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट पछि हट्नुको विकल्प नरहेको बताए । ‘सीमा समस्या अहिले भर्खरको होइन, अघिल्लो शताब्दीमा भएको हो, मिचिएको हो’, उनले भने, ‘केहीले अहिले भर्खरै भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन।’ सीमा मिचिएको मुद्दामा भइरहेको आन्दोलनबारे आफु जानकार रहेको पनि ओलीले बताए ।