२८ फागुन,महोत्तरी ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर खुलेआम कालोबजारी गर्ने एक जना पेट्राल पम्पका सञ्चालकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उमेश आयल स्टोर्स गौशाला–१ का सञ्चालक ३७ वर्षीय अमरेशकुमार साह रहेका छन् । आज बिहान पाँच वटा ड्रममा भरीभराउ डिजेल ज १ त १०९० नं को ट्रयाक्टरमा लोड गरी गौशाला बजारस्थित राधाकृष्ण किराना पसलमा ल्याइरहेको समयमा प्रहरीले पक्राउ गरेका छन् ।

गौशाला नगरपालिका–१ मा सञ्चालनमा रहेको उमेश आयल स्टोर्समा पेट्रोलियम पदार्थको कृत्रिम अभावको सिर्जना गरी सञ्चालक साहले आफैले सञ्चालन गरेको किराना पसलमा खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएका थिए । पक्राउ परेको साहलाई आवश्यक अनुसन्धानको लागि इप्रका गौशालामा राखिएको छ भने ट्रयाक्टर र डिजेल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । रासस