१० चैत, काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग गर्नका लागि सचिवालयमा रहेका सबैले एक महिनाको तलब दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सचिवालयमा रहेका ६ जनाले एक महिना र तीन जनाले आधा महिनाको पारिश्रमिक बराबर रकम दिने भएका छन् ।

मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशङ्कर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा एक महिनाको तलब दिनुहुने छ । यसैगरी सचिवालयमा रहनुभएका विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिनेछन् ।