२० मंसिर, वासिङ्टन।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिक कुनैपनि आतङ्कवादीहरुको धम्कीदेखि नडराउने बताएका एएफपीले जनाएको छ ।

उनको नियमित रेडियो सम्बोधनका क्रममा आइतबार भने– हामी अमेरिकी नागरिकहरु जस्तोसुकै आतङ्कवादीहरुको धम्कीबाट आतङ्कित हुदैनौ ।

गत हप्तामात्र अमेरिकाको क्यालिफोर्नियामा भएको हत्याकाण्डमा १४ जनाको ज्यान गएको थियो । त्यसमा अरु १५ जना नराम्ररी घाइते भएका थिए ।

सो हत्याकाण्डपछि राष्ट्रपति ओबामाले पहिलो पटक सम्बोधन गर्नुभएको हो । उहाँले त्यस घटनामा आतङ्कवादीहरुको सम्लग्नताको कुरा उठाइएकोप्रति गम्भीर रुपमा चासो व्यक्त गरेका थिए।

उनले भने– त्यस हत्याकाण्डमा आतङ्कवादीको सम्लग्नताको कुरा उठाएर कुनै एक आतङ्कवादी समूहले त्यसको प्रशंसा गरेको थियो तर त्यसले हामीलाई आतङ्कवादी हमला हुने भनी आतङ्कित पार्न सक्दैन ।

उनले इस्लामिक स्टेट, आइएसको नामै नलिई सो धारणा राखेका हुन । आइएसले सो हमलामा आफ्नो हात रहेको दाबी सीधै नगरेपनि त्यस हमलामा सम्लग्न महिलाको प्रसंशा गरेको थियो ।

त्यसमा उनीहरुको सम्लग्नता नरहेको प्रतिवेदन अमेरिकी गुप्तचर निकायले हालै सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा उक्त हमला नितान्त पारिवारिक रहेको भनी टिप्पणी गरिएको छ ।

यदि सो हमला आतङ्कवादीले नै गरेको हो भने सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको अल कायदाको हमलापछिको पहिलो यस्तो आतङ्ककारी हमला भएको बताइएको छ ।

साथै राष्ट्रपति ओबामाले आइतबारै अबेरतिर देशवासीका नाममा सम्बोधन गर्ने भएकाछन्। उनले हालैका दिनमा फ्रान्सको पेरिसमा भएको हमलापछिको अवस्थालाई अमेरिकाले कसरी लिएको छ भन्ने बारेमा स्पष्ट गर्ने भएका छन् ।

ह्वाइटहाउसका अधिकारीहरुले राष्ट्रपति ओबामाले युरोपमा एक किसीमको त्रास नै मच्चिइरहेको पछिल्लो आतङ्कवादी हमलाको विषयमा अमेरिकी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने बारेमा सम्बोधन गर्ने बताएका छन् ।

अमेरिकामा पनि आतङ्कवादी हमलाका विभिन्न हल्ला चलेका छन् । तर त्यहाँको गुप्तचर निकायले यस्तो सम्भावना नरहेको बताउदै आएको छ ।

पेरिस हमलापछि युरोप र अमेरिकामा पनि असुरक्षाको हल्ला चलिरहेकोले त्यसका विरुद्धमा अमेरिकाले कसरी तयारी गरिरहेको छ भन्ने बारेको जानकारी पनि उनको सम्बोधनमा आउने अधिकारीहरुको भनाई छ ।