२७ साउन, काठमाडौं । मुस्लिम समुदायले आफ्नो सबैभन्दा ठूलो चाड बकर इद हर्षोल्लासका साथ मनाइरहेका छन् ।

नजिकैका मस्जिदहरुमा भेला भएर मुस्लिम समुदायले इद मनाउने क्रममा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा पनि भेला भएका उनीहरुले आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा पनि भनिन्छ । मुस्लिम समुदायले यो पर्वलाई कुरबान (बलि)को पर्वको रुपमा पनि लिने गरेका छन ।

हिजरी सम्वत अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई कुरबान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्माबलम्बीहरुले बताएका छन । यस पर्वमा मस्जिदमा जम्मा भई नमाज पढने पनि गरिन्छ ।

यसैगरी यस पर्वमा विभिन्न जनावरको बलि दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले, एक भाग पाहुनालाई र अर्को एक भाग गरिब एंव दीनदुःखीलाई बाँडने परम्परा रहेको छ ।