काठमाडौं, ५ बैशाख । १९ वर्ष मुनीको आइसीसी विश्वकप क्रिकेटको एशिया छनौटमा नेपालले कुवेतविरुद्ध ८ विकेटको सानदार जित दर्ता गरेको छ ।

मलेसियाको किन्रारा ओभर मैदानमा कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा जम्मा २ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा रित गौतमले ६२, पवन सर्राफले ५३ रनको योगदान गरे भने आसिफ शेख ३३ र सन्दिप जोरा ५ रनमा नटआउट रहे । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले ४९ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो ।

कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि कप्ता रोहित पौडेलले ३ तथा रसिद खान, कुशल मल्ल र सुर्य तामाङले समान २–२ विकेट लिएका थिए । छनौट प्रतियोगिताका पाँचमध्ये चार खेलमा सानदार जित निकालेपनि नेपालको विश्वकप खेल्ने सपना भने अधुरै रहेको छ । समूहको शीर्ष स्थानमा रहने टोली मात्रै छनौट हुने भएपछि एशियाबाट युएइले विश्वकप खेल्ने भएको छ ।

वर्षाका कारण प्रभावित खेलमा युएइसँग एक रनले हार्नु नै नेपालका लागि दुर्भाग्य सावित भयो । युएईले अब सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा सहभागिता जनाउनेछ ।नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने मलेसियालाई आठ तथा ओमनलाई १५० रनले पराजित गरेको थियो ।