९ मंसिर, काठमाडौं । गैरकानुनी ढंगबाट कृषि विकास बैंकको ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुस्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

]

बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित ८ जना विरुद्ध आयाेगले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ विगोदाबीसहित सोमबार मुद्दा दायर गरेको हो । बैंकको स्वयम्भु शाखाका तत्कालीन प्रबन्धक भरतबहादुर बानियाँसहित शाखा अधिकृत केदारप्रसाद गौतम, उनकी जेठी श्रीमती सम्झना पोखरेल, कान्छी श्रीमती जेनी श्रेष्ठ, बैंकका सूर्यबहादुर लिम्बु, कृष्णहरि थापा र सन्दीप गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हानी नोक्सानी भएको बिगो असुलउपर हुनुपर्ने माग दाबीसहित मुद्दा चलाइएको हो ।

उक्त बैंकको स्वयम्भूमा कार्यरत शाखा अधिकृत गौतम र रामेछाप घरभई हाल भारत बस्ने राजीव थापा भन्ने कृष्णहरि थापाको योजनामा २०७५ असोजमा कृषि बैंकको स्वयम्भु शाखामा केही दिनको अन्तरालमा चारवटा नक्कली खाता खोलेर उक्त रकम हिनामिना गरिएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पत्ता लगाएको थियो । प्रहीका अनुसार गौतम र थापाको योजनाअनुसार ती खातामा अनियमितरुपमा रकम जम्मा र ट्रान्सफर गर्ने जिम्मेवारी केदारप्रसाद गौतमले तथा खातावालको बन्दोबस्त गर्ने जिम्मेवारी एकापसमा बाँडफाड गरेको थिए । थापा १४ वर्षदेखि भारतमा बसोबास गरी त्यहीँको रासनकार्डधारी भएको खुलेको थियो ।

गौतम र थापाले आफ्नो पासवर्ड प्रयोग गरी उल्लेखित खातामा देशभित्रकै कृषि विकास बैंकका विभिन्न १७ वटा शाखाबाट रकम आएको देखाइ बदनियतरुपमा रकम जम्मा गर्ने गरेका थिए। जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मङ्गलबजार, न्यूरोड, रत्नपार्कलगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रेलगायतका अन्य सात वटा बैंकमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटकरपटक कुल ३३ करोड ८२ लाख ५७८ भुक्तानी लिई बैंकलाई हानी र्पुयाएको अनुसन्धानबाट खुलेको थियाथियो।

भारतमा बस्ने थापाको सहयोगमा आफूले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको गौतमले स्वीकारेका थिए। त्यसैको आधारमा बैंक खाता खोल्नुका साथै जग्गा जमिनसमेत किनेका थिए।