के तपाइको सुत्नुअघि मोबाइल चलाउने बानी छ? छ भने यो बानी तत्काल परिवर्तन गर्न जरुरी छ।

यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुस्, सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानी गर्छ। यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ।

के हुन्छ मोबाइल चलाउँदा?

सुत्नु अघि टिभी, ट्याबलेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरको आन्तरिक घडी बिग्रन्छ। यो आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न आन्तरिक तथा बाह्य अवस्थाको लागि आफुलाई तयार राख्छ।

जब यो सर्काडियन रिदम (circadian rhythm) बिग्रन्छ तब निन्द्राको समयमा शरिरमा उत्पन्न हुने मेलाटोनिन नामको हर्मोन उत्पादनमा दख्खल पुग्छ। जसले निन्द्रा अनियमित बनाइदिन्छ।

यी इलेक्ट्रोनिक डिभासबाट निस्कने छोटो वेभलेन्थको कृत्रिम निलो प्रकाशको कारण शरीरको यो आन्तरिक घडीमा असर पुगेको हो।

बेलुकाको समयमा जति बढी यस्ता इलेक्ट्रोनिक उपकरण प्रयोग गरिन्छ, त्यति नै निदाउन गाह्रो हुन्छ, छोटो निन्द्रा पर्छ।

सुत्नु पर्ने समयमा नसुत्दा रेम चरणको निन्द्राको अवधि घट्छ। जसको कारण बिहान उठ्दा शरिरमा आलस्यता आउँछ, शरिरले पुरा आराम पाएको हुँदैन। (REM- Rapid Eye Motion- यो निन्द्राको गहिरो चरण हो, जसले शरिरमा ताजगी फिर्ता ल्याउन मद्धत गर्छ, साथै यही चरणमा सपना देखिन्छ। त्यसैले यो बेला व्यक्तिको आँखा चलिरहेको देख्छ सकिन्छ)।

यसरी सुत्नु अघि नियमित मोबाइल चलाउने बानीले बिस्तारै शारिरीक स्फुर्ति घटाउँदै जान्छ, जसले मानसिक रुपमा पनि विभिन्न समस्याहरु देखिन थाल्छन।

यो बानी हटाउन बेलुका सुत्नु अघि किताब पढ्ने बानी सुरु गर्न सकिन्छ। यसले निन्द्रा लगाउन पनि मद्धत गर्छ अनि ज्ञान पनि पाइन्छ।

अर्को प्राविधिक उपाय पनि छ, किन्डल। इलेक्ट्रोनिक उपकरण नै भएपनि किन्डलमा किताब पढ्दा यसले अन्य उपकरण जस्तो हानी गर्दैन, किनकी यसले मोबाइल, ट्याबलेटहरु झै कृत्रिम निलो प्रकाश निकाल्दैन।

कुनैदिन निदाउने १ घण्टा अघि नै मोबाइल चलाउन बन्द गर्नुस्, अनि हेर्नुस् बिहान उठ्दा कति सहजै उठ्न सक्नुहुन्छ! देख्नुहुनेछ शरिरमा हिजो अस्ती भन्दा बढी ताजगी आएको छ।

यस्ता बानी परिवर्तन गर्नु है भन्ने खालका जानकारीहरु पढेर भन्दा एकपटक आफै पालना गरेर हेर्दा सहजै त्यसको सत्यता थाहा पाउन सकिन्छ। एक घन्टा मोबाइल नचलाउँदा भोली दिनभर स्फुर्त रहन सकिन्छ भने एक पटक गरेर किन नहेर्ने!