२३ फागुन, मकवानपुर । कैलाश गाउँपालिका वडा नं ७ तामलाङ गाउँमा मिस वर्ल्ड २०१९ सहितको टोली पुगेको छ ।

शुक्रबार तामलाङस्थित ङिको स्वास्थ्य चौकीको अवलोकनका लागि मिस वर्ल्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु पुगेका थिए । पाहूनाहरु तामलाङ पुग्दा कैलाश गाउँपालिका तथा स्थानीयबासिन्दाहरुले भब्य स्वागत गरेका थिए ।

तामलाङमा ङिको स्वास्थ्य चौकी निर्माण मिस नेपाल २०१८ कि बिजेता श्रृंखला खतिवडाले गर्नुभएको हो । मिस वर्ल्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नु भएकी खतिवडाले ब्युटी अफ पर्पज बिधा जित्न सफल भएको स्वास्थ्यचौकी मिस वर्ल्डका आयोजकहरुलाई अवलाेकन गराएकी थिइन् ।

स्वाथ्यचौकीको अवलोकनपछि अवलोकनपछि मिस वर्ल्डकी अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको बागमती प्रदेश सांसद एबम् खतिवडाकी आमा मुनु सिग्देलले जानकारी दिइन् । कैलाश गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मिस वर्ल्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वर्ल्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट लगायत जनप्रतिनिधिहरु र सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।