१५ चैत, काठमाडौं । साझा पार्टीले कोरोना संक्रमणले निम्त्याएका र निम्ताउन सक्ने विभिन्न संकटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र र उच्चस्तरीय विज्ञ समितिको गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । प्रधानमन्त्रीको नाममा लेखिएको सुझावपत्र आज पार्टीका संयोजक रवीन्द्र मिश्र तथा प्रवक्ता डा सूर्यराज आचार्यले उपप्रधानमत्री ईश्वर पोखरेललाई हष्तान्तरण गरेका छन् । सुझावपत्रको पूर्ण पाठ यस प्रकार छ:

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रथमतः यहाँको सुस्वास्थ्यको लागि कामना गर्दछु। साथै, स्वास्थ्य प्रतिकूलताका अलावा जुन आत्मविश्वास र दृढताका साथ यो कठिन घढीमा देशलाई नेतृत्व प्रदान गर्ने प्रयास गरिरहनुभएको छ, त्यसका लागि शुभकामना अर्पण गर्दछु ।

यो देशले हालैका वर्षहरूमा दुईवटा कठिन समयहरूको दृढताका साथ सामना गर्यो। पहिलो, २०७२ सालको भूकम्प थियो भने, दोस्रो त्यसको लगत्तै नेपालले व्योहेरेको नाकावन्दी थियो। नाकावन्दीको सामाना हामीले तपाईंकै नेतृत्वमा सफलतापूर्वक गरेका थियौँ।

ती दुबै संकटका चुनौती आँकलन गर्न सकिने प्रकृतीका थिए। तर कोरोना भाइरस (कोभिड-१९) को विज्ञान अझै स्पष्ट भएको छैन र महामारीको सम्भाव्य परिणाम आँकलन गर्न नसकिने प्रकृतिको छ। कोरोना महाव्याधीबाट विश्व नै आक्रन्त बनिरहेको छ। स्रोत-साधनमा कमजोर रहेको नेपालका लागि यसले अकल्पनीयरूपमा विकराल स्थिति सृजना गर्न सक्छ।

यो अवस्थामा तात्कालिक राहतका लागि सरकारले के, कस्ता कदम चाल्न जरूरी छ भन्नेबारे सरकार स्वयं जानकार छ भने आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रका विज्ञहरूले पर्याप्त राय दिइसकेका छन्। त्यसैले म पुन: तिनै विषयमा प्रवेश गर्न चाहन्न। म साझा पार्टीको तर्फबाट सिर्फ दुईवटा विषयबारे यहाँको ध्यानाकर्षण गर्न चाहन्छु।

१. उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रको निर्माण: व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) को अभवमा एम्बुलेन्सले विरामी बोक्न नमानेको, डाक्टरहरूले राजीनामा दिन थालेको, ठूला अस्पतालहरूसँग आवश्यक उपकरण र स्वास्थ्यकर्मी पर्याप्त नभएको, संभावित संक्रमितहरूलाई परिक्षणका लागि पहिचान गर्न नसकिएको, आम जनजीवन अस्तव्यस्त हुन थालेको, श्रमिकहरू भोकै पर्न अवस्था आउन लागेको, आपूर्ती अवरूद्ध भएकोदेखि अर्थतन्त्रमा तत्काल र दिर्घकालका लागि संकट उत्पन्न हुने लगायतका अवस्था आएको देखिएको छ। माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको ‘कोरोना रोग संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले सक्दो प्रयास गरिरहेको छ।

तर संकटको बहूआयामिक स्वरूप र वर्तमान अवस्थाको गम्भिरतालाई हेर्दा सरकारको नियमित र घनिभूत क्रियाशिलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्बित हुने राजनीतिक तहको एकबद्धतापूर्ण निर्णय जरूरी पर्दछ। तसर्थ, संभव छ भने तपाईंकै नेतृत्वमा, त्यो संभव नभए, उपप्रधानमन्त्री ईश्वर पोखरलेज्यूको नेतृत्वमा प्रमुख दलका नेताहरू समेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको छ। यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्न विचार, राय र सुझावलाई समीक्षा र संश्लेषण गर्ने माध्यमको रुपमा पनि काम गर्ने छ। संकटको यो घडिमा आम जनमानसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्न समेत यस्तो संयन्त्रले सघाउ पुर्याउने छ।

२‍ उच्चस्तरिय विज्ञ समितिको निर्माण: बर्तमान संकटको विविध क्षेत्रमा पर्ने तात्कालिक र दिर्घकालीक असरहरूसँग जुध्नका लागि सरकारलाई निरन्तररूपमा आवस्यक विश्लेषण, सुझाव र समीक्षाका लागि एउटा उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न उपयुक्त हुनेछ। उक्त समितिमा प्रशासन र स्वास्थसेवाका सम्वन्धित अधिकारीहरू लगायत देशभित्र र बाहिर रहेका नेपाली, र आवश्यक परेको खण्डमा, विदेशी विज्ञहरूलाई पनि सामेल गर्न सकिन्छ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
हालैको संरचनाभित्रको घनिभूत प्रयासको निरन्तरताले मात्रै यो संकटको सामना गर्न कठीन छ। यो अभूतपूर्व मानवीय संकटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा अभूतपूर्व संरचनागत फेरबदल गर्नु पर्छ भन्ने हाम्रो धारणा हो। साझा पार्टी सरकारको कुनै पनि त्यस्तो प्रयासमा साहायकशिद्ध हुन सक्छ भने खुशीसाथ सहयोगको हात बढाउन तत्पर छ। साथसाथै, आम नागरिकले यस्तो अवस्थामा सरकारबाट अत्यन्तै जिम्मेवार, जवाफदेहीपूर्ण र परिणामूखि कार्यशैलीको अपेक्षा गर्नु स्वभाविक हुनेछ।

ससम्मान
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मिति: १५ चैत २०७६