१३ चैत, काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोभिड-१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण लण्डनमा फेरि एक नेपालीको मृत्यु भएको छ ।

चितवन घर भई झण्डै दुई दशकदेखि लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको हो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

अर्यालको पारिवारिक स्रोतका अनुसार उनलाई हाइब्लड प्रेसरबाहेक अरु कुनै रोग थिएन । केही दिनदेखि सामान्य ज्वरो र खोकी लागेपछि निबार अस्पताल लगिएको थियो । स्थानीय एलिजावेथ अस्पतालमा उपचारकै क्रममा उनको सोमबार नै मृत्यु भएपनि परिवारलाई आज मात्रै जानकारी गराइएको थियो ।

उनका श्रीमती ११ वर्षकी एक छोरी र ९ वर्षीय एक छोरा रहेका छन् । कोरोना संक्रमणका कारण बेलायतमा पनि लकडाउन छ । कोरोना संक्रमणको जोखिम हुने भएकाले अस्पतालले प्रशान्तको मृत्युअघिको क्षण परिवारका सदस्यलाई लाइभ भिडियो देखाएको थियो । उनका श्रीमती र छोराछोरीले मृत्युअघिको क्षण लाइभ भिडियोमा हेरेका थिए । मृतकको परिवारका अन्य सदस्यमा भने अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन ।