९ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि थप चिन्ता थपिएको छ । सरकारले संक्रमण फैलन नदिन विभिन्न सुरक्षा उपायहरु अवलम्बन गरेको छ । भाइरस संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री चुङ स्ये क्यूनले अहिले देशमा संकटकालीन अवस्था भएको टिप्पणी गरेका छन् ।

दक्षिणी सहरहरु डाएगु र चेओङ्दोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको बीबीसीले जनाएको छ । संक्रमण तिब्र दरमा फैलिन थालेपछि मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । कतिपय सैनिकहरुमा पनि कोरोना भाइरसको लक्षण देखि थालेपछि सरकारले सेनालाई पनि निश्चित घेरामा सिमित गरेको खबर छ ।

कोरोना संक्रमितको संख्या दक्षिण कोरियामा डेढ सय नाघिसकेको छ । हिजो ५३ जनामा देखिएको संक्रमण आज थप ५२ जनामा सिमित देखिएको पुष्टि भएको छ । अहिलेसम्म कूल १ सय ५६ जनामा संक्रमण भइसकेको समाचारमा उल्लेख छ ।

दक्षिण कोरियामा एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । दक्षिण कोरियामा नेपालीहरु भाषा परीक्षा नै पास गरेर रोजगारीका लागि जाने गर्दछन् । दक्षिण कोरियामा तिब्र गतिमा कोरोना भाइरस फैलिएको अवस्थामा नेपालीहरु फेरि उद्दार गर्नुपर्ने हुनसक्छ ।

विश्वको अवस्था

विश्वका विभिन्न देशमा फैलिएको कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको संक्रमणबाट ७६ हजार भन्दा धेरै मानिस संक्रमित छन् । अहिलेसम्म २२ सय ४७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । योमध्ये चीनमा मात्रै ७५ हजारमा संक्रमण र २२ सय ३६ को मृत्यु भएको तथ्याङ्क छ । एशिया, युरोप र अफ्रिकामा पनि कोरोना संक्रमणबाट मानिसहरुको मृत्यु भएको छ ।