३ चैत, एजेन्सी । कोरोना भाइरसको प्रभाव संसारभरको हरेक उद्योग र व्यापार व्यवसायमा परेको छ । यसकै एक प्रभाव भारतको कुखुरापालक किसानलाई परेको छ । भारतमा १ सय भन्दा धेरै मानिसको कोरोना भाइरसको संक्रमण देखिएपछि कुखुराको मासु र अण्डाकोे मूल्यमा भारी गिरावट आएको छ ।

मांसाहारी मानिसहरुमा कोरोनाको संक्रमण तीब्र रुपमा फैलिन्छ भन्ने हल्ला फैलिएपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रहेको महाराष्ट्र राज्यमा मानिसहरुले कुखुराको मासु खानै बन्द गरेका छन् । त्यहाँका व्यवसायीहरु प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म मासु बेच्न बाध्य भएका छन् ।

महाराष्ट्रका पोल्ट्रि व्यवसायीहरु आफूहरुको नोक्सानको भरपाईको माग गर्दै सडकमा उत्रिएका छन् । त्यहाँको प्रमुख जिल्ला अधिकारीको कार्यालय बाहिर कुखुरा छोडेर आन्दोलन शुरु गरिएको छ । प्रहरीले सबै आन्दोलनकारीहरुलाई पक्राउ गरेको छ । महाराष्ट्रमा मात्र होइन भारतका अन्य राज्यहरुमा पनि कुखुराको मासुको मूल्यमा भारी गिरावट आएको छ ।

भारतको कोल्हापुरमा १ सय रुपैयाँमा ४ वटा कुखुरा बेचिएको व्यवसायीलाई उद्धृत गर्दै आजतकले समाचार छापेको छ । यस्तै पञ्जाबमा यसअघि ६५ रुपैयाँ किलोमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य अहिले भने १५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । त्यहाँको पोल्ट्रि व्यवसायीहरु आफूहरुलाई १ किलोमा ५० रुपैयाँ घाटा लागेको बताउँदै सरकारसँग क्षतिपूर्तिको माग गरिरहेका छन् ।

कुखुराको मासु खाएमा कोरोना भाइरस फैलिन्छ भन्ने हल्लाका कारण मानिसहरुले कुखुराको मासु नखाएको पाइएको छ । यद्यपि अध्ययनहरुले भने कुखुराको मासुका कारण कोरोनाभाइरस नफैलिने सचेत गराएका छन् । मासुलाई राम्रोसँग पकाएर खाएमा कोरोनाभाइरस नदेखिने अध्ययन संलग्नहरुको भनाइ छ ।