५ फागुन, एजेन्सी । उत्तर कोरियाले कोरोना भाइरस संक्रमित आफ्ना एक नागरिकलाई मृत्युदण्ड दिएको छ । चीनबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका व्यक्ति सार्वजनिक स्थलमा नुहाउन गएपछि मृत्युदण्ड दिइएको हो ।

उनलाई जानाजान अरुलाई रोग सार्ने जोखिम बढाएको भन्दै मारिएको दक्षिण कारियाली समाचार संस्थाहरुले जनाएका छन् । उत्तरले आफ्नो देशमा एकजनामा मात्रै कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भनी गरेको दाबीमाथि विशेषज्ञहरुले शंका व्यक्त गरिरहेका बेला घटना भएको हो । चीनबाट फर्किएका ति ब्यापारीलाई घातको रोगको भाइरस फैलाउन खोजेको भन्दै गोली हानेर मारिएको समाचारमा उल्लेख छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले चीनबाट फर्किएकाले विना अनुमति क्वारेन्टाइनबाट बाहिरिनेलाई शैनिक कानुन लगाउने सपथ खुवाएका थिए । चीन भ्रमणको कुरा लुकाउने अर्का एक नागरिकलाई उत्तर कोरियाले देश निकाला गरेको युके मिररले जनाएको छ ।

दक्षिण कोरियाका संचारमाध्यामले उत्तर कोरियामा कोरोना भाइरसका कारण विरामी र मृत्युको संभावित सूची दिएपनि प्योङयाङमा रहेको विश्व स्वास्थ्य संगठनका अधिकारीले आफूहरुलाई कुनै सूचना नदिएको बताएका छन् । दक्षिण कोरियाली समाचार एजेन्सीहरुका अनुसार चीनबाट फर्किएका र चिनियाँ व्यक्तिसँगको सम्पर्कमा रहनेलाई क्वारेन्टाइनमा राखिएको छ ।