१३ चैत, एजेन्सी । चीनबाट उत्पत्ति भएर युरोपमा तिब्र गतिमा फैलिइरहेको कोभिड १९ अर्थात नोवल कोरोना भाइरसको संक्रमणका कारण हरेक मिनेटमा मानिसले ज्यान गुमाइरहेका छन् ।

स्पेनमा मात्रै पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक अनुसार प्रत्येक २ मिनेटमा एकजनाको मृत्यु भइरहेको छ । स्पेनमा अहिले मृतकको संख्या ४ हजार नाघिसकेको छ । पछिल्लो तथ्यांक अनुसार स्पेनमा कूल मृतकको संख्या ४ हजार ८९ पुगेको छ ।

संक्रमितको संख्या ५६ हजार १ सय ८८ पुगेको छ । ७ हजार १५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् भने ४५ हजार ८४ जना अहिले पनि अस्पतालमा उपचाररत छन् ।

इरानमा आज मात्रै १ सय ५७ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या २२ सय ३४ पुगेको छ । मृतक र संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । विश्वमा अहिलेसम्म मृतकको संख्या २२ हजार २६ पुगेको छ । ४ लाख ८७ हजार ४ सय ५१ जना संक्रमित भएकामा १ लाख १७ हजार ५ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।