२७ फागुन, काठमाडौं । सरकारले कोरोनाको आशंका देखिएकामा व्यक्ति आफैं क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ ।

सत्तारुढ नेकपाको भ्रातृ संगठन युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएका हुन् । अब कसैलाई कोभिड नाइन्टिन भनिने कोरोना भाइरस लागेको शंका भएमा सरकारले चीनबाट उद्दार गरी ल्याएर राखिएको जसरी क्वारेन्टाइनमा नराख्ने मन्त्री ढकालको भनाई छ ।

‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ क्वारेन्टाइनमा मान्छेहरु बस्नुपर्छ ।’ मन्त्री ढकालले भने ।

उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैं क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् । परीक्षण गराउने व्यवस्था भने सरकारले मिलाउने उनले बताए । ठूलो समूहमा राख्नुपर्ने अवस्था आयो भने सरकारले खरिपाटी क्वारेन्टाइनमा राख्ने उनले बताए । युवा संघले सामाजिक सञ्जाल र विभिन्न संचारमाध्यामबाट तथ्यहिन र अड्कलबाजीका सूचना सम्प्रेषण भइरहेको भन्दै आधिकारिक सूचना जारी गर्ने व्यवस्था मिलाउन ध्यानकर्षण गराएको हो ।