कोरोना भाइरसबाट विश्वभर २० हजार भन्दा बढी संक्रमति भइसकेका छन्। चीनबाट सुरु भएको यो भाइरस विश्वव्यापी प्रकोप बन्दैछ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। वैज्ञानिक यसको निदानको उपाय खोज्दै छन्। यसैबिच थाइल्याण्डको ब्याङ्ककका डाक्टरहरुले एचआइभीका बिरामीलाई दिने औषधी मिसाएर कोरोनाभाइरस सफल निदान गरेको खबर आएका छन्।

थुप्रै औषधीको मिश्रणले ७१ वर्षिया एक वृद्धाको ४८ घण्टामा स्वास्थ्यमा सुधार देखिएको रिपोर्टजहरुमा भनिएका छन्। यो घटना उपर अझै अनुसन्धान चल्दैछ।

किन एचआइभीको औषधी प्रयोग गरियो ?

थाइ डाक्टरहरुले कोरोनाभाइरस विरुद्ध विभिन्न औषधीहरुको मिश्रण प्रयोग गरेका हुन, विशेष गरी एन्टी-रेट्रोभाइरल औषधी।

‘प्रभावकारी उपचार’ दाबी गर्दै अस्पतालले भनेको छ, ‘यो यसको निदान होइन, तर बिरामीको स्वास्थ्य अवस्था धेरै सुधार भएको छ। १० दिन उपचार गर्दा पनि ‘टेस्ट पोजेटिभ’ भएको बिरामी, यो मिश्रित औषधी प्रयोग पश्चातको ४८ घन्टामा कोरोनाभाइरस ‘नेगेटिभ’ भेटिए।’

यो पनि पढ्नुस्ः विश्वका ५ घातक भाइरसः अधिकांसको उपचार अझै असम्भव

के यसले काम गर्छ?

कोरोनाभाइरस विरुद्धको खोप पत्ता लाग्न अझै वर्षौ लाग्नसक्छ। तर थाइ डाक्टरहरुले गरेको यो विधि आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने बताइन्छ।

यो भन्दा अघि धेरै केसहरुमा चीनका डाक्टरहरुले उच्च जोखिमका विरामीमा एचआइभीका औषधी प्रयोग गर्दै आएको थाहा भएको छ।

यसरी थरीथरी औषधी प्रयोग गरि गरिने उपचारलाई ‘कम्बिनेसन थेरापी’ भनिन्छ। यो कुनै नौलो विधि भने होइन। विगतमा क्यान्सर लगाएत विभिन्न क्रोनिक रोगहरुमा यो विधिले उपचार गरिदै आएको छ।

कोरोनाभाइरसका विरामीको उपचार गर्न लोपिनाभीर, रिटोनाभीर नामका औषधी प्रयोग गरिएका हुन।

यी औषधीले भाइरस फैलिन रोक्छ, शरिरको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने क्षमता घटाउँछ। जसले गर्दा शरीरमा थप इन्फेक्सन हुन पाउँदैन।

एचआइभी भाइरस र कोरोनाभाइरसले ‘प्रोटेज’ इन्जाइम प्रयोग गरेर मानव शरिरको प्रोटिन कोषमा आक्रमण गर्छ र शरिरभित्र आफ्नो सङ्ख्या बढाउँछ। यी औषधीले यही इन्जाइम उपर काम गर्छ। जसले गर्दा यी भाइरस फैलिन पाउँदैन साथै शरिरको प्रतिरक्षा प्रणाली बलियो रहिरहन्छ।

यी दुइ औषधी बाहेक फ्लुको औषधी ‘ओसेल्टाभीर‘को डोज पनि संगै दिइएको छ।

विगतमा सार्सको उपचार गर्न पनि यसरी नै एचआइभीका औषधी प्रयोग गरिएको थियो।

चीनका डाक्टरले अहिले कोरोनाभाइरस विरुद्ध ‘कम्बिनेसन थेरापी’ प्रयोग गरिरहेका छन। कसैमा यी औषधीले एलर्जी देखिएपनि, केहीको स्वास्थ्यमा भने सुधार देखिएको छ।