१८ चैत, एजेन्सी । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण कंगोका पूर्व राष्ट्रपति ज्याक्स जोकिम योहोम्बी ओपाङ्गोको निधन भएको छ ।
फ्रान्सको राजधानी पेरिसमा रहेका उनको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

उनी ८१ वर्षका थिए । पारिवारिक स्रोतका अनुसार उनी कोरोना भाइरसको संक्रमणपछि मात्रै विरामी परेका हुन् । उनले सन १९७७ देखी १९७९ सम्म कंगो ब्राज्जाभिलको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए।

सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनुअघि उनले धेरै बर्ष जेल जीवन पनि बिताए । सन् १९९३ बाट १९९७ को गृहयुद्ध सुरु नभएम्म उनी देशको प्रधानमन्त्री समेत बनेका थिए।

त्यसपछि १० बर्षदेखि फ्रान्समा निर्वासित जीवन बिताइरहेका थिए । कंगोमा भने अहिलेसम्म कोरोना भाइरसका कारण एकजनाको पनि मृत्यु भएको छैन । अहिलेसम्म १९ जना संक्रमित मात्रै भेटिएका छन् ।