१२ चैत, काठमाडौं । आज कोरोना पोजेटिभ देखिएका धादिङका ३२ वर्षीय युवक कतारबाट चैत ६ गते काठमाडौं आएका थिए । उनी एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट चैत ६ गते राति १० बजे त्रिभुवन विमानस्थल अवतरण गरेका थिए ।

धादिङ घर भएपनि उनी त्यसदिनदेखि काठमाडौंको एक होटलमै बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए । उनले ती युवक बसेको होटलको नाम भने खुलाएनन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो मात्रै अस्पताल पुगेका थिए । अस्पतालले कोरोना आशंकामा स्वाब परीक्षणका लागि टेकु स्थित केन्द्रीय प्रयोगशालामा पठाइएको रिपोट आज पोजेटिभ आएको हो ।

ती युवकमा कोरोना पोजेटिभ आएपछि उनी बसेको होटल र यो बीचमा उनले भेटघाट गरेका मानिसहरुलाई सम्पर्कमा ल्याएर क्वारेन्टाइनमा राख्ने प्रक्रिया अघि बढाइएको मन्त्री ढकालले जानकारी दिए ।