११ चैत, काठमाडौं । फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अहिले टेकु अस्पतालमा उपचार गराइरहेकी छिन् । उनलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहँदा सरकार भने उनीसँग जहाजमा नेपाल आएका व्यक्तिहरुको खोजीमा जुटेको छ ।

उनलाई कोरोना पोजेटिभ देखिएपछि धेरैजसो यात्रुहरु सरकारको सम्पर्कमा आएका छन् । उनीहरुलाई स्वास्थ्य मन्त्रालयले हटलाइनमा फोन गर्न पनि अपिल गरेको छ । चैत ४ गते कतार एयरवेजको विमानमा ती युवतीसँग आएका यात्रु अहिले आफैं सरकारको सम्पर्कमा आउन थालेका छन् । बागलुङको मध्यढोरपाटन नगरपालिका ५ का एक युवा अहिले होम क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनीसँगै आएका ढोरपाटन नगरपािलका ७ का अर्का व्यक्ति परिवारका सदस्यको निधन भएकाले किरिया बसिरहेका छन् । सरकारले सकभर विमानका सबै यात्रुको स्वास्थ्य अवस्थाबारे जान्ने प्रयास गर्दैछ र तत्काल घरमै क्वारेन्टाइनमा बस्न अपिल गरेको छ ।