५ चैत, एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिइरहेको (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख पुगेको छ ।

वल्डओमिटर डट इन्फो को पछिल्लो तथ्यांक अनुसार १६७ देशका १ लाख ९९ हजार ४ सय ७५ जना संक्रमित भएका हुन् । जसमध्ये ८२ हजार ८ सय १२ जना उपचारपछि पूर्णरुपमा निको भएर घर फर्किएका छन् । १ लाख ८ हजार ६ सय ५४ जना अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये ६ हजार ४ सय १८ जनाको अवस्था चिन्ताजनक रहेको तथ्यांकमा उल्लेख छ ।

मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार ८ हजार ९ जनाको मृत्यु भइसकेको छ । कोरोनाको सुरुवात भएको चीनमा सबैभन्दा धेरै ८० हजार ८ सय ९४ जना संक्रमित हुँदा ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् । ८ हजार ४३ जना अस्पतालमा उपचार गराइरहेका छन् जसमध्ये २ हजार ६ सय २२ जनाको अवस्था गम्भीर छ ।

चीनमा कमजोर बन्दै गएको कोरोनाले यतिखेल युरोपमा आतंक पैदा गरेको छ । इटालीमा ३१ हजार ५ सय ६ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ५ सय ३ जना पुगिसकेको छ । २६ हजार ६२ जना अस्पतालमा उपचार गराइरहँदा २ हजार ९ सय ४१ जना निको भइसकेका छन् । स्पेनमा ११ हजार ८ सय २६, जर्मनीमा ९ हजार ४ सय १४ र फ्रान्समा ७ हजार ७ सय ३० जना संक्रमित भएका छन् ।

स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, जर्मनीमा २६ जनाको मृत्यु भइसकेको छ । इरानमा १६ हजार १सय ६९ जना संक्रमित हुँदा ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा ८ हजार ४ सय १३ जनामा संक्रमण हुँदा ८४ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिका पनि कोरोना संक्रमणबाट प्रताडित छ । पछिल्लोपटक वेष्ट भर्जिनियामा एक व्यक्तिमा कोरोना पुष्टि भएसँगै अमेरिकाका सबै राज्यमा कोरोना फैलिएको छ ।

६ हजार ५ सय २४ जना अहिलेसम्म संक्रमित भएकामध्ये १ सय १६ जनाको ज्यान गइसकेको छ । ६ हजार ३ सय २ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर छ । अरु अमेरिकन, युरोपियन, खाडी मुलुक र अफ्रीकी देशहरुमा पनि कोरोनाको संक्रमण फैलिँदै गएको छ ।