२७ कात्तिक, एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले अष्ट्रेलियाली क्रिकेटर ग्लेन म्याक्सवेलले मानसिक समस्याका कारण बिश्राम लिनुलाई उपयुक्त कदम भएको टिप्पणी गरेका छन् ।

म्याक्सवेलको तारिफ गर्दै बिराटले आफ्ना पूराना दिन पनि सम्झिए । जतिबेला उनी पनि मानसिक तनाव र समस्या झेलिरहेका थिए । त्यतिबेला उनलाई लागेको थियो, अब केही बाँकी रहेन, सबै चिज सकियो । यतिसम्मकी उनलाई यस्तो कुरा कसलाई भन्ने पनि केही थाहा भएन । यस्तो अवस्था जो कसैलाई पनि हुनसक्ने बिराटको भनाई छ । त्यसैले यसलाई सकारात्मक तरिकाबाट लिनुपर्ने बिराटले बताएका छन् ।

सन् २०१४ मा इङ्ल्याण्ड भ्रमणका क्रममा प्राप्त असफलता सम्झँदै भने, ‘म पनि आफ्नो करियरका दौरान यस्तै अवस्थाबाट गुज्रिएको थिएँ जहाँ मलाई लागेको थियो कि अब यो दुनियाँकै अन्त्य हुँदैछ । मलाई केही थाहा थिएन । के गरुँ ? कसलाई के भनु ? कोसँग कुरा गर्ने ? को सँग नगर्ने ?’

यहि तनावका कारण त्यतिबेला बिराटले ५ टेष्टको १० पारिमा जम्मा १ सय ३४ रनमात्रै बनाउन सकेका थिए । बिराटले यस्तो कुरा खुलेर भन्दै बिश्राम गर्नु म्याक्सवेलको महानता भएको बताए । ‘म्याक्सवेलले विश्वभरका क्रिकेटरसामू एउटा दरिलो उदाहरण प्रस्तुत गरेका छन् ।’ उनले भने-“मैले फेरि यस्तो अवस्थामा हार मान्नुपर्छ भन्न खोजेको चाहिँ होइन, स्पष्ट निर्णय गर्नु ठूलाे कुरा हाे ।’

अक्टुबरको अन्तिम हप्ता म्याक्सवेलले क्रिकेटबाट केही समय विश्राम लिने घोषणा गरेका थिए । उनले मानसिक स्वास्थ्य समस्याका कारण यस्तो निर्णयमा पुगेको बताएका थिए । एक प्रमुख क्रिकेट वेवसाइटले साइकोलोजिष्ट डाक्टर माइकल लयडको हवाला दिँदै लेखेको थियो, ‘म्याक्सवेल मानसिक स्वास्थ्यसँग सम्बन्धित केही कठिनाइको सामना गरिरहेका छन् । यसैकारण उनी क्रिकेटबाट केही समय टाढा रहनेछन् ।’