१३ असोज, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गरेका छन् ।

आइसिसीकै सल्लाह र निर्देशनानुसार काम भइरहेको बताउँदै अध्यक्ष चन्दले आइसिसीको अक्टोबरमा बस्ने बैठकले क्यानमाथिको प्रतिबन्ध छिट्टै हट्नसक्ने सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए ।

क्रिकेट विकासका लागि गृहकार्य थालिएको भन्दै अध्यक्ष चन्दले भने, ‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनुपर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’

अध्यक्ष चन्दले आगामी दिनमा क्रिकेट क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध ढङ्गले अघि बढ्ने उल्लेख गर्दै चाँडोभन्दा चाँडो खेल मैदान निर्माण गर्नको लागि सरकार, राष्ट्रिय खेलकूद परिषद (राखेप), प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्ने बताउए ।

उनले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्ने बताउदै सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।

क्यानको सिईओ पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने अध्यक्ष चन्दको भनाइ छ । ‘आइसिसीले हामीसँग आर्थिक पारदर्शीता, चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने उनले भने । अध्यक्ष चन्दले यही वर्ष देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) समेत आयोजना गर्ने जानकारी दिए । रासस