२० मंसिर, धनुषा । आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी रहेका छन् । उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

चौधरी जनकपुर उपमहानगरपालिका–२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै थिए ।

जिरोमाईल प्रहरी चौकीबाट खटिएको प्रहरीले ज २ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।