वासिङ्टन, २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताउनुभएको छ ।

उहाँले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भन्नुभयो ।

राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै “मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन ।

यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन” भन्नुभयो । विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध कृयाकलापलाई प्रश्रय दिन सक्ने पनि उहाँले बताउनुभयो ।

क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेट मार्फत एकापसमा गरिने कारोबार हो र यो एक किसिमको डिजिटल मुद्रा हो ।

सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तिब्र गतिमा फैलिएको छ । फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरुमाझ अझ चर्चा पाएको छ ।

करिब दुई अब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरु साझेदार समेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ ।

यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएका छन् । तर राष्ट्रपति ट्रम्पले फेसबुक र अरु कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुबैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिनुभयो ।

“संयुक्तराज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ, र यो विगतको भन्दा बढी मजबूत छ ।” विश्वका प्रमुख औद्योगिक मुलुकहरुको समूह जी–७ का अर्थ मन्त्रीहरुको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीका बारेमा पनि छलफल हुने तयारी हुँदैछ ।

कतिपय अमेरिकी नेताहरुले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग समेत गर्न थालेका छन् ।

फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ । विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्शका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ ।