१६ फागुन, भक्तपुर । सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई सत्राैँ दिनमा घर फर्काइने भएको छ ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले आज १३ दिन सफल रुपमा पार गरेका छन् । यसअघि ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान ८ः०० र त्यसपछि त्यही टोलीले ११ः०० बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिने मन्त्रालयले जनाएको छ । शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका क्याप्टेन डा नवीन फुयाँलले जानकारी दिए । यहाँ स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको जानकारी दिँदै उनले शनिबार सङ्कलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो ।

शनिबार सङ्कलन गरिने र्याल नमूना परीक्षणको रिपोर्ट १७ गतेसम्म आउने र ढिलोमा १८ गतेसम्ममा उहाँहरुलाई घर फर्काइने भएको छ । अहिले पनि धेरै जनाको रिपोर्ट आउनुपर्ने भएकाले कम्तीमा पनि रिपोर्ट आउन तीन दिन लाग्ने जानकारी दिँदै डा फुयाँलले सबैको नेगेटिभ रिपोर्ट आएपछि सरकारको निर्देशन तयारीअनुसार घर फर्काइने जानकारी दिए।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण हुने उनको भनाइ छ । क्वारेन्टाइनमा रहेकाहरु सबैको यहाँ खटिएका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन् भने नेपाली सेनाको वीरदल गणको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको कन्ट्रोल रुमबाट सिसी क्यामराको माध्यमबाट पनि उनीहरुको निगरानी गर्नाका साथै आवश्यकताअनुसार माग गरेका सामान पुर्याइदिने व्यवस्था गरिएको छ । रासस