१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाजुरा त्रिबेणी नगरपालिका–४ घर भई काठमाडौं कलंकी बस्ने किर्तिपुर नगरपालिकाको सिभिल ईन्जिनियर २६ वर्षीय उपेन्द्र बहादुर साउद र ललितपुर गोदावरी नगरपालिका–१० घर भई काठमाडौं कलंकी बस्ने २६ वर्षीय महेश पण्डित रहेका छन् ।

बा ८८ प ७५८५ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले मदिरा सेवन गरी चलाएका थिए ।

कागजपत्र माग्दा कागतपत्र नदिई एक हजार रुपैयाँ नगद दिई प्रलोभनमा पार्न खोजेपछि उक्त नगद सहित मोटरसाइकल चालक साउद र मोटरसाइकलमा सवार पण्डितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।