१८ असोज, काठमाडौं । सरकारले दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन ।

सरकारले दसैंका लागि प्रतिकेजी ५५० रुपैयाँ खसी/बोकाको मूल्य तोकेपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन् । फूलपातीको दिन काठमाडौंको भृकटीमण्डपमा भेटिएका काभ्रेका व्यापारी दिपक प्रसाद वन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश पोखे । उनले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी/बोका ५५० मा विक्री गर्दा भएको घाटा कसले व्यहोर्ने भन्दै आक्रोशमिश्रित प्रश्न गरे । ‘आफूले ७ लाख हालेर ल्याएको खसी/बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी वन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरि दिन्छ ?’ दसैंका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पालेजसरी खसी/बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको पनि व्यक्त गरे ।

khasi-boka

व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन् । अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए । उनले भारतबाट पनि खसी/बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे । दसैंका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताएपनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।

दसैंमा खसी/बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर १०० रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे । केही नाफा हुने आसमा खसी/बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ । खसी/बोकाको मूल्य तोकेर काठमाडौंमा सुपथ मूल्य पसल नै संचालन गरेको सरकारले व्यापारीहरुले खाएको घाटालाई कसरी सम्बोधन गर्ने हो ? त्यो भने हेर्न बाँकि छ ।