१८ मंसिर, काठमाडौं ।
विजयकुमार गच्छदार ०७० को संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवार थिए । राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने गच्छदारले निकै साँघुरो मतले मात्र विजयी भए । उनीसँग एमालेकी भगवती चौधरी तीन सय ६२ मतले पछाडि परिन् ।

तिनै भगवती चौधरी यसपटक पनि गच्छदारविरुद्ध उम्मेदवार भएकी छिन् । यसपटक उनलाई वाम गठबन्धनको पनि साथ छ । यता गच्छदार भने कांग्रेसबाट उम्मेदवार भएका छन् ।

गच्छदारले आफ्नो दल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा मिलाएका हुन् । गत स्थानीय निर्वाचनमा दुईवटा तह लोकतान्त्रिक फोरमले जितेको छ । कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमको मतले आफू जित्नेमा गच्छदार ढुक्क छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

चौधरी भने एमाले र माओवादीको मतले जित्नेमा ढुक्क छिन् । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराउँदा गच्छदारसँग असन्तुष्टहरूको मत पनि आफूले पाउने चौधरीको दाबी छ । पटक–पटक सरकारमा गएर पनि गच्छदारले जिल्लामा काम नगरेकाले यसपटक जनताले आफूलाई रोज्ने उनले बताइन् ।

गच्छदारले यस क्षेत्रमा ०४८ सालदेखि निरन्तर जित्दै आएका छन् । उनी छैटाैँपटक जितको खोजीमा छन् । उनी ०४८, ०५१ र ०५६ सालको संसदीय निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा फोरम नेपालबाट र ०७० को निर्वाचनमा फोरम लोकतान्त्रिकबाट विजयी भएका हुन् ।

यता, एमाले वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरी ०६४ सालमा मनोनित सभासद् थिइन् । उनी वन राज्यमन्त्री पनि भएकी थिइन् । चौधरीले फर्वार्ड कम्युनिटी नामको वित्तीय संस्थासमेत चलाउँदै आएकी छिन् । संस्थामार्फत धेरै महिलालाई आत्मनिर्भर बनाएका कारण उनको लोकप्रियता बढेको छ ।

‘यसपटक यहाँका जनता परिवर्तनका पक्षमा छन्, यहाँबाट जितेर २५ वर्षदेखि सत्तामा जाने नेतृत्वले आर्थिक संमृद्धिका कुनै पनि योजना ल्याउन सकेनन्,’ चौधरीले भनिन्, ‘गच्छदारले जनताले दिएको जनमतको कदर नगरेपछि यसपटक मेरो जित निश्चितजस्तै भएको छ ।’ उनले घरदैलो कार्यक्रमलाई तीव्रता दिएकी छिन् । गच्छदारसँग असन्तुष्ट सबैलाई एमालेमा प्रवेश गराएको उनको भनाइ छ ।

प्रदेशतर्फ कांग्रेसबाट ‘क’मा कुमार थापा र ‘ख’मा अगमलाल चौधरी उम्मेदवार छन् । थापा लोकतान्त्रिक फोरमबाटै कांग्रेसमा आएका हुन् । एमालेबाट ‘क’मा लिलम बस्नेत र ‘ख’मा रामदेव यादव उम्मेदवार छन् । एमालेका बस्नेत उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष हुन् । यादव जिल्ला कमिटी सदस्य हन् ।

क्षेत्र नम्बर ३ मा इटहरीका १० वटा वडा समेटिएका छन् । त्यस्तै, दुहबी नगरपालिका, गढी र बर्जु गाउँपालिका समेटिएको छ । इनरुवाको वडा नम्बर ७ पनि यही क्षेत्रमा पर्छ ।