२७ भदौ, एजेन्सी । भारतको मध्यप्रदेशमा गणपति विसर्जन गर्न गएको एउटा डुंगा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

भोपालको खटलापुरा घाटमा भएको दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । डुंगा दुर्घटना भएलगत्तै त्यहाँको स्टेट डिजास्टर रेस्पोन्स फण्डको टिमले उद्धार सुरु गर्दा नदीमा डुबेका ७ जनाको ज्यान बचाउन सफल भएको अधिकारीहरुले जनाएका छन् ।

तस्बिर: एएनआई

शुक्रबार बिहान ३ बजे गणपति विर्सजनका लागि घाटमा पुगेका व्यक्तिहरु चढेका दुईवटा डुंगामध्ये एउटा पल्टिएको प्रत्यक्षदर्शीले जनाएका छन् । संगसँगै रहेका दुईमध्ये एउटा डुंगा हल्लिएपछि त्यहाँ रहेका व्यक्तिहरु अर्को डुंगामा हामफाल्न खोज्दा दुबैतिरका व्यक्तिहरु खसेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउने सबै २७–२८ वर्ष उमेरका रहेका छन् । दुर्घटनापछि मध्यप्रदेश सरकारले दुर्भाग्यपूर्ण घटना भएको प्रतिक्रिया दिँदै मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषण गरेको छ ।