२ माघ, पाल्पा । यहाँ सञ्चालित सहकारी संस्थाले झण्डै रु दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ । बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको २०औँ साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार÷व्यवसाय, पढाइ खर्च, वैदेशिक रोजगारीका क्षेत्रमा समेत सहकारीका लगानी खर्चिएको छ । उत्पादनमूलक क्षेत्रबाहेक घर÷जग्गा व्यवसायमा समेत लगानी हुँदै आएको प्रतिवेदनले औँल्याएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा २९२ सहकारी संस्था सञ्चालनमा रहेका छन् ।

जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा सञ्चालित सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी गरीबी र बेरोजगारी हटाउन आफ्ना बचतलाई परिचालनमा जोड दिइराखेका छन् । पछिल्लो समय यस्ता लगानीबाट युवालाई स्वरोजगार बनाउन सहयोगी सावित भएको छ । यहाँ ३० करोडभन्दा माथि शेयर पूँजी सङ्कलित छ । रु दुई अर्बभन्दा माथि बचत र ऋण परिचालन भएको छ । जिल्लामा सञ्चालित सहकारीमार्फत महिलाले रोजगारीका अवसर प्राप्त गरेका छन् । व्यवस्थापक, बजार प्रतिनिधिलगायतका पदमा महिलाको आकर्षण बढ्दो छ । कूल रोजगारीको झण्डै ६५ प्रतिशतभन्दा बढी महिला छन् ।

जिल्लामा सञ्चालित सहकारीमार्फत झण्डै ५१० जनाले रोजगारी पाउन सफल बनेको बचत तथा ऋण सहकारी सङ्घका जिल्ला अध्यक्ष जगदीश भट्टराईले जानकारी दिनुभयो जिल्लामा ८७ हजार ४०५ शेयर रहेका मध्ये महिला ५३ हजार ६०५ सदस्य छन् । एक हजार ५१२ सञ्चालकमध्ये महिला ९२३ रहेका छन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा योजनाबद्धरूपमा सहकारी उद्यमशीलताको विकास गर्दै अघि बढेको देखिएको छ । सहकारीको प्रवद्र्धन, अनुगमन र निरीक्षणमा चासो नदिँदा प्रभावकारिता हुनसकेको छैन । प्रदेश नं ५ को सन्दर्भमा चार हजार २३७ सहकारी संस्था छन् । सहकारी संस्था सञ्चालनका लागि ३३ हजार ३७६ सञ्चालक छन् । प्रदेशमा ११ लाख ११ हजार ३१५ सदस्य र छ हजार ६६२ कर्मचारी छन् ।

प्रदेशमा रु छ अर्ब ३४ करोडभन्दा माथि शेयर पूँजी छ । रु ३० अर्ब १६ करोडभन्दा माथि बचत र रु ३४ अर्ब ५० करोडभन्दा माथि ऋण लगानी परिचालित छ । नेपालमा हाल ३५ हजार बढी सहकारी संस्था सञ्चालित छन् । सहकारीमार्फत सानादेखि ठूला व्यवसाय सञ्चालन गर्र्नका लागि सहज भएको छ । कूल गार्हस्थ उत्पादनमा सात प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान छ । सहकारीमार्फत ६० हजार ५१७ जनाले प्रत्यक्ष रोजगारी पाउन सफल छन् । नेपालको सहकारी अभियान विधिवतरूपमा विसं २०१३ चैत्र २० गते चितवनको बखानुपुर ऋण सहकारी संस्थाको स्थापनाबाट भएको हो । जिल्ला सहकारी सङ्घ पाल्पाका सचिव भूपति पाण्डेयका अनुसार जिल्लामा २९२ सहकारी सञ्चालनमा छन् । चार वटा विषयगत, एक जिल्ला सहकारी सङ्घ, जिल्लास्तरीय बचत तथा ऋण सहकारी संस्था सक्रियरूपमा सञ्चालित छन् ।

बचत तथा ऋण सहकारीमा ९१, दुग्ध १९, बहुउद्देश्यीय ३८, कृषि १०८, अदुवा नौ, कफी नौ, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, बीउबिजन, कोशेली र स्वास्थ्य एक÷एक सहकारी संस्था रहेको सहकारी सङ्घका सचिव भुपति पाण्डेयले बताउनुभयो । जिल्लामा ९१ बचत तथा ऋण सहकारीमध्ये जिल्ला बचत तथा ऋण सहकारी सङ्घमा ६३ आबद्ध हुँदै आएका छन् । ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नै लगानी हुँदै आए पनि स्थानीय तहमा ठोस योगदान भएको देखिएको छैन । रासस