२३ साउन, बलेवा । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द छ ।

आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत् आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताउनुभयो ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढामगरले बताउनुभयो । ‘तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ’, बुढामगरले भन्नुभयोे, ‘झण्डै चार महीना अन्धकारमा परिने भइयो ।’

आयोजनाको बाँधसँगै मुख्य प्रसारण लाइनका आठ पोलसमेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन् । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको उहाँले बताउनुभयो । रासस